सीमा सम्बन्ध सुधार्न मोदीको निर्देशन

सीमा सम्बन्ध सुधार्न मोदीको निर्देशन
२३ साउन,काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारत सीमा क्षेत्रमा भइरहेको तनाव कम गर्न सुरक्षा एजेन्सीलाई निर्देशन दिएका छन्। मोदी सरकारले सीमा क्षेत्रमा बसेका नेपालीसँग राम्रो सम्बन्ध बनाउन र मैत्रीपूर्ण कार्य गर्न निर्देशन दिएको भारतको गौरीफन्टा सीमा सुरक्षा बल (एसएसबी) का इन्चार्ज अम्रेश विश्वासले बताए।
केन्द्र सरकारको निर्देशनका आधारमा १५ अगस्त अर्थात् भारतको स्वतन्त्रता दिवसका अवसरमा एसएसबीले दुवै देशका नागरिक सम्मिलित हाफ म्याराथन आयोजना गरेको छ। म्याराथनबारे जानकारी गराउन आयोजित पत्रकारसम्मेलनमा विश्वासले भने, 'यो दौडमा नेपाल र भारतका ११ वर्षभन्दा माथिका जोकोही पनि सहभागी हुन पाउनेछन्।'
उक्त 'नेपाल-भारत मैत्री हाफ म्याराथन' २१ किलोमिटरको हुनेछ। भारतको दुधुवा नेसनल पार्क कार्यालय नजिकबाट सुरु हुने म्याराथन गौरीफन्टा सीमा नाकामा आएर टुंगिनेछ। 'यसमा दुवै देशका अधिकारी निर्णायक रहनेछन् र दुवै देशका अधिकारीले पुरस्कार वितरण गर्नेछन्', विश्‍वासले भने। म्याराथनमा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार भारतीय रुपैयाँ पुरस्कार दिइने आजको अन्नपूर्ण पोष्टमा शिवराज भट्टले समाचार लेख्नु भएको छ ।
दुई देशबीच सम्बन्ध सुधारका लागि महिला र ६५ वर्षमाथिका वृद्धवृद्धाका लागि पनि आठ किलोमिटरको म्याराथन प्रतियोगिता आयोजना गरिएको छ। यसका विजेतालाई १०-१० हजार भारतीय रुपैयाँ पुरस्कार दिइनेछ।
नेपाल र भारतको सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मी र जनतासँगको सम्बन्ध सुमधुर बनाउन यस्ता क्रियाकलाप गरिरहने पनि विश्वासले बताए। नेपालीहरूले सीमामा एसएसबी तैनाथ गरिएपछि दुर्व्यवहार बढेको गुनासो गरिरहेका बेला मोदी सरकारले सम्बन्ध सुधारका लागि सामाजिक काम गर्न निर्देशन दिएको हो। 'पहिलो चरणमा मैत्रीपूर्ण म्याराथनले सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षाकर्मी र सीमामा बसेका नेपालीबीचको सम्बन्धमा सुधार हुने अपेक्षा गरिएको छ', विश्‍वासले भने।

0 comments

Write Down Your Responses

Powered by Blogger.