२५ साउन,काठमाडौं ।
मधेस केन्द्रित प्रमुख तीन दलबीच एकता नहुने भएको छ। दोस्रो संविधानसभा
निर्वाचनमा भोगेको पराजयपछि मधेसी जनअधिकार फोरम नेपाल, तराईमधेस
लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच एकता प्रक्रिया सुरु भएको थियो।
तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा शुक्रबार राति फोरम नेपालका अध्यक्ष
उपेन्द्र यादव, तमलोपा अध्यक्ष ठाकुर र सद्भावना पार्टी अध्यक्ष राजेन्द्र
महतोबीच पार्टी एकताका लागि अन्तिम बैठक बसेको थियो। तर यादवले पार्टी
एकता हुन नसक्ने धारणा राखेपछि बैठक पार्टी एकीकरण नहुने निष्कर्षमा पुगेको
हो। यससँगै नेताहरू तत्कालका लागि पार्टी एकता प्रक्रिया स्थगन गर्ने
निर्णयमा पुगेका आजको अन्नपूर्ण पोष्टमा चिरञ्जीवी ढुंगाना समाचार लेख्नु
भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजले नेपाल
भ्रमणका क्रममा आठ मधेसवादी दल र प्रमुख तीन दलका मधेसी सभासद्सँगको
संयुक्त भेटमा 'पहाडविरोधी भावना त्याग्न र मधेसी दलहरूबीच एकता अघि बढाउन'
सुझाव दिएका थिए।
ती दलको बैठकमा यादवले आफ्नो पार्टीभित्रको आन्तरिक समस्याका कारण
पार्टी एकता नगर्ने प्रस्ताव राखेका थिए। उनले भनेका थिए, 'मेरो
पार्टीभित्रको आन्तरिक कारणले गर्दा हालका लागि पार्टी एकीकरण वा मोर्चागत
एकता गर्न सकिँदैन। त्यसैले एकता प्रक्रियासम्बन्धी सम्पूर्ण कार्य स्थगित
गरौं।'
तमलोपाका अध्यक्ष ठाकुरले कि एकीकरण तत्काल गरौं नत्र गडबड कुरा नगरौं
भन्ने प्रस्ताव राखेका थिए। 'तीन दल नमिले पनि मुद्दा मिल्ने पार्टीबीच
एकता हुँदै जान्छ', ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'तीन दलबीच एकता
प्रक्रिया अब धेरै लम्ब्याउनु हुँदैन।'
तीन मधेस केन्द्रित दलबीच गत मंसिर २० गतेदेखि एकता प्रक्रिया अघि बढेको
थियो। पुस २८ गते बसेको बैठकले एककरणका लागि सैद्धान्तिक सहमति गरेको
थियो।
सद्भावना पार्टीका महामन्त्री मनीषकुमार सुमनले फोरम नेपालका अध्यक्ष
यादवले आफ्नो पार्टीभित्रको आन्तरिक कारण देखाउँदै एकता प्रक्रिया अन्त्य
गराएको बताए। उनले भने, 'अब तमलोपा र सद्भावनाबीच निकट भविष्यमै एकीकरण
हुनेछ।'
तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले एकीकरण प्रक्रियाले रोकिएका
तीनवटै पार्टीका आन्तरिक कार्यक्रम अब अघि बढ्ने बताए। 'तमलोपाकै
महाधिवेशनसमेत रोकिएको थियो', उनले भने, 'अब सबै दलले आआफ्ना पार्टीका
आन्तरिक गतिविधि अघि बढाउनेछन्।' फोरम नेपालका नेता लालबाबु राउतले पनि
एकीकरण प्रक्रिया स्थगित भएको जानकारी दिए।
मधेस केन्द्रित प्रमुख तीन दलबीच एकता भाँडियो
Powered by Blogger.

0 comments
Write Down Your Responses