कांग्रेसले काम गर्न नदिएको एमाले मन्त्रीहरुको गुनासो
२५ साउन,काठमाडौं ।
एमाले मन्त्रीहरूले कांग्रेसले संयुक्त सरकारको विधिविपरीत मन्त्रालयमा हस्ताक्षेप गरेकाले काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका छन्। पार्टी अध्यक्ष केपी ओलीको निवासमा शनिबार बिहान भएको छलफलमा एमाले मन्त्रीहरूले यस्तो गुनासो गरेका आजको अन्नपूर्ण पोष्टमा बालकुमार नेपाल समाचार लेख्नु भएको छ ।छलफलमा अध्यक्ष ओलीले पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्रीसँग आफूले गरेका कामका विवरण मागेका थिए।
कांग्रेसकै कारण वीर अस्पतालमा समस्या आएको स्वास्थ्यमन्त्री खगराज अधिकारीले गुनासो गरेका थिए। राजदूत नियुक्तिमा पनि कांग्रेसले बखेडा झिकेको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले गुनासो गरेका थिए। 'कांग्रेसले केही मन्त्रालयका काममा हस्तक्षेप गरेको गुनासो आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढेको जानकारी मन्त्रीहरूले अध्यक्षलाई गराउनुभएको थियो', उद्योगमन्त्री कर्ण थापाले भने। उनका अनुसार अध्यक्ष र मन्त्रीबीचको छलफल साताको एकपटक गरिने भएको छ।
एमाले अध्यक्ष ओलीले भने जनतको गुनासो नआउने गरी काम गर्न र अनावश्यक हस्ताक्षेप भए आफूलाई भन्नसमेत मन्त्रीहरूलाई निर्देशन दिएका थिए। 'तपाईंहरू प्रभावकारी ढंगले काम गर्नुस्। यही सरकारले संविधान जारी गर्ने हो', अध्यक्ष ओलीलाई उद्धृत गर्दै थापाले भने।
'कांग्रेसले औपचारिक निर्णय गरेर केही भनेको छैन। संविधान जारी नभएसम्म यही सरकारलाई अगाडि बढाउनुपर्छ', ओलीलाई उद्धृत गर्दै अर्का एक मन्त्रीले भने। स्वास्थ्यमन्त्री अधिकारीले मन्त्रालयका कामबारे अध्यक्षसँग छलफल भएको बताए।
उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले शान्तिसुरक्षा, बाढीपहिरो र उद्धारकार्यका बारेमा अध्यक्षलाई अवगत गराएका थिए। गौतमले चरीको मृत्यु प्रहरीसँगको 'क्रसफाइरिङ' मा भएको दोहोर्याएका थिए। ओलीले यो विषयमा विवाद भएकाले छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न गौतमलाई निर्देशन दिएका थिए।
'गृहमन्त्रीले संसद्मा जे भन्नुभएको थियो, अध्यक्षलाई त्यही कुरा दोहोर्याउनुभयो। अध्यक्षले पनि आफूले यसअघि बोलेका कुराअनुसार नै गर्न गृहमन्त्रीलाई निर्देशन दिनुभयो', मन्त्री थापाले जानकारी दिए।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने पीआर लिने कर्मचारीका लागि ल्याइएको विधेयक कांग्रेस महामन्त्री कृष्ण सिटौलाका कारण अघि बढ्न नसकेको गुनासो गरेका थिए। छलफलमा ऊर्जामन्त्री राधा ज्ञवाली, खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र पर्यटनमन्त्री भीम आचार्यबाहेक सबै सहभागी थिए। मन्त्री ज्ञवाली र पौडेल विदेशमा छन् भने आचार्य उपत्यकाबाहिर छन्।

0 comments
Write Down Your Responses