पिडामाथि पिर ! साउदीमा आमालाई मृत्युदण्ड, यता छोराको मुटुमा प्वाल

पिडामाथि पिर ! साउदीमा आमालाई मृत्युदण्ड, यता छोराको मुटुमा प्वाल
२५ साउन, दमौली ।
श्रावण १९ गते (अगष्ट ४) मा साउदी अरबमा मृत्युदण्ड दिइएकी तनहुँ भीमाद–३ भावरकी शोभा परियारका ११ वर्षीय छोरा दिवस जन्मजात अपाङ्ग छन् । उनको जन्मजात ओठ फाटेको थियो । शल्यक्रियापछि दिवसको ओठ त पुरिएको छ, तर आवाज स्पष्ट छैन ।
साउदी अरबमा आमालाई मृत्युदण्ड दिइएको बारे दिवसलाई जानकारी छैन । उनी मुटुको समेत विरामी भएका कारणले परिवारले उनलाई यो खबर सुनाउन सकेका छैनन् । ‘दिवस मुटुको रोगी भएकाले उसलाई यो खबर सुनाउन सकेका छैनौं,’ शोभाकी बहिना रेखा परियारले भनिन्, ‘उसलाई यो बारेमा जानकारी दिन्नौ, पछि विस्तारै बुझ्ने भएपछि भनौंला भन्ने सोचेका छौं ।’
स्थानीय ज्ञानज्योति प्राविमा कक्षा ५ मा अध्ययनरत दिवसले पछि आफू शिक्षक बन्ने बताए । ‘पछि पढेर शिक्षक हुन्छु,’ अस्पष्ट आवाजमा उनले भने । आफूलाई सबैभन्दा सजिलो कम्प्युटर विषय लाग्ने र सबैभन्दा गाह्रो सामाजिक विषय लाग्ने उनले बताए ।
शोभाकी आमा बुद्धिसरा छोराको मुटुको प्वालको उपचारको लागि पैसा कमाउन शोभा साउदी अरब गएको र अब उनको निधनपछि छोराको उपचारलाई लिएर चिन्ता लागेको बताउँछिन् । दिवसको ओठ र मुटुको उपचार गर्दा हालसम्म करिब ४ लाख रुपैयाँ खर्च भइसकेको छ । यो सबै खर्च उनका हजुरबुबा एवं शोभाका बुबा भीमबहादुरले गरेका छन् । भीमबहादुर भारतीय सेनाका पूर्व हवल्दार हुन् । उनले आफूले त्यहाँबाट पाउने पेन्सनबाटै नातिको उपचार गर्दै आएका छन् । दिवस जन्मेको ११ दिनदेखि मामाघरमा बस्दै आएका छन् । पछि उनका बाबुले अर्को विवाह गरे । त्यसपछि शोभा दिवसलाई लिएर माइतीमै बस्न थालेकी थिइन् ।
दिवस स्थानीय ज्ञानज्योती प्राविमा कक्षा पाँचमा अध्ययनरत छन् । जन्मदै ओठ फाटेको उनको गत बर्ष काठमाडौंमा उपचार गरेपनि मुटुमा परेको प्वालको आर्थिक अभावको कारण उपचार गर्न नसकिएको बताए । मुटुको समस्या भएको कारण आमालाई साउदीमा मृत्युदण्ड दिईएको बारे छोरा दिवसलाई हालसम्म कुनै जानकारी नदिएको शोभाकी आमा बुद्धिसराले बताईन् ।
छोराको मुटुको भल्वमा परेको प्वाल टाल्ने सपना सहित साउदी अरब उडेकी शोभा साउदी अरबमा २ वर्षे बालकको हत्याको अभियोगमा मृत्युवरण गरिसकिन् । छोराको मुटुको भल्वमा परेको प्वाल त टालिएला तर शोभाले साँचेका ती सपना उनको लागि सपना मात्रै हुन पुगेको छ ।
सन् २०१० को अप्रिलमा साउदी पुगेकी शोभा घरेलु कामदारको रुपमा कार्यरत थिइन् । मालिक मालिक्नीले दिन रातै कुट्ने र हप्कीदप्की गर्ने गर्दै गर्दा एक दिन उनी माथि जबरजस्ती (बलत्कार) गर्ने प्रयत्न समेत भए पछि भने आबेगले अनियन्त्रित भई प्रतिकार गरेकी थिइन् ।
सन् २०११ जुलाई महिनामा घरैमा रहेको बच्चा माथि घटना घट्न पुगे पछि उक्त घटना आफूबाट नभई उनीहरुले नै गरेको तर तीन महिनामा घर पठाइ दिने बहानामा सहि छाप लगाउन लगाई अरबी भाषाको बोल्न ज्ञान भए पनि लेखेको के थियो त्यो नबुझ्दा सोझै सहिछाप लगाउन लगाएर फसाइएको परिवारसँग पटक–पटक फोनमा जानकारी गराइ रहेकी हुन्थिन् ।
बिहीबार शोभाका परिवारलाई भेट्न घरमै पुगेका तनहुँका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले साउदी कानुन अनुसार क्षतिपूर्ति नपाईने भएपनि नेपाल सरकार मार्फत पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने आश्वासन दिएको कृष्ण न्यौपानेले कारोबारमा खवर लेख्नुभएको छ ।
प्रजिअले शोभाका ११ वर्षीय छोराको पढाईको लागि पनि पहल गर्ने समेत बताए । साथै प्रजिअ विकेले मुटुमा प्वाल परेको शोभाका छोरा दिवसको निशुल्क उपचारको लागि पनि पहल गर्ने र निशुल्क उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख सावित्री थापा रावलले शोभाको छोराको पढाईको लागि जिल्ला बालकल्याण समिति मार्फत सहयोग गर्ने बताईन् । दिवसलाई हाल पढिरहेको विद्यालयमा निशुल्क रुपमा अध्ययनको लागि जिल्ला शिक्षा कार्यालय मार्फत सहयोग गर्ने जिल्ला बालकल्याण अधिकारी समेत रहेकी रावलले प्रतिबद्धता जनाईन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.