एलडियो सहित एक सय ३० कर्मचारी कार्यालयमा आउदैनन्
२३ साउन, विदुर । नुवाकोट जिल्लामा रहेका मध्ये २३ वटा सरकारी कार्यालयहरुमा एकै दिन एक सय ३० जना भन्दा बढी कर्मचारीहरु अनुपस्थित भएका छन् ।
पछिल्लो समयमा कार्यालयमा कर्मचारीहरु नभेटिएको गुनासो बढ्दै गएपछि नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला सहितको टोलीले गरेको अनुगमन निरीक्षणमा हिजो एकै दिन एक सय ३० भन्दा बढी कर्मचारीहरु कार्यालयमा अनुपस्थित रहेको पाइएको हो । कार्यालयमा नआउनेमा कर्मचारीहरुमा २४ जना अधिकृतस्तरका कर्माचारी र एक सय दुई जना अन्य सुब्बा तथा खरिदार तहमा कार्यरत कर्मचारी रहेको प्रमुख जिल्ला अधिकारी निरौलो जनकारी दिनुभएको छ ।
अनुगमनको क्रममा नुवाकोटका स्थानीय विकास अधिकारी गोपालप्रसाद रेम्मी समेत कार्यालयमा नभेट्टिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभएको छ ।
अनुगमनको क्रममा सबैभन्दा बढी कर्मचारी अनुपस्थित हुनेमा नेपाल विद्युत प्रांधिकरण देवीघाट जलविद्युत आयोजनामा कार्यरत २० जना कर्मचारी रहेको पाइएको छ ।
यस्तै, विदुर नगरपालिकाका १७ जना, जिल्ला शिक्षा कार्यालयमा ९ जना, प्राविधिक कार्यालयमा ८ जना, डिभिजन सडक कार्यालय, उपोष्ण प्रदेशीय वागवानी, जिल्ला विकास समितिको कार्यालयमा समान पाँच जना कर्मचारीहरु अनुपस्थित रहेको सम्बन्धित कार्यालयको हाजिर कापीलाई उद्रित गर्दै प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभएको छ । नौ जना कर्मचारी अनुपश्थित रहेको जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति र विद्यालय निरीक्षकहरु विद्यालय वर्षे बिदाले बन्द भएको मौका बनाउदै विद्यालय निरीक्षणको बाहनामा काजमा गएको समेत पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।
अहिले विद्यालय बन्द हुदा श्रोतकेन्द्रमा काज जनाउने श्रोतव्यक्ती भने विद्यालय निरीक्षणमा नभई काठमाडौमा तर्फ लागेको जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीले आफूलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभएको छ ।
नयाँ आर्थिक वर्षको तेस्रो साता बित्नलाग्दा समेत सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु कार्यालयमा नपाइएको सेवाग्राहीबाट गुनासो आएपछि कार्यालयहरुमा छड्के अनुगमन गरिएको उहाँले बताउनुभएको छ ।
जिल्लामा रहेका सरकारी कार्यालयका कर्मचारीहरुको हाजिर कापी अध्ययन गर्दै जिल्लामा नै रहेका कर्मचारीहरुले तीन महिनासम्म घर बिदा जनाएको पाइएको, शहरी विकास भवनको कार्यालयमा एक जना पनि अधिकृत स्तरको कर्मचारी कार्यालयमा नपाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।
तोकिएको समयमा कार्यालयम अनुपस्थित हुने कर्मचारीलाई स्पष्टिकरण सोधिने र चित्तबुझ्दो जवाफ नआएमा निजामति ऐन अनुसार कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनभएको छ ।
उहाँले तीन पटकसम्म अनुपश्थित हुने कर्मचारीलाई चेतावनी दिने र त्यो भन्दा बढी दिन रहेमा गयलकट्टी गरी त्यस समयको सेवा र सुविधा रोक्ने चेतावनी दिनुभएको हो ।
कार्यालयमा अनुपस्थित भएका कर्मचारीलाई पहिलो पटकलाई स्पष्टिकरण सोधिएको र त्यसको जानकारी सम्बन्धित मन्त्रालयमा समेत पठाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी निरौला, सहायक प्रमुख जिल्ला अधिकारी तिर्थबहादुर अधिकारी सहितको अनुगमन टोलीले न्याय क्षेत्र, सुरक्षा निकाय, निर्वाचन कार्यालय र बैङ्किक क्षेत्र बाहेकका कार्यालयहरुको छड्के अनुगमन गरेको थियो ।

0 comments
Write Down Your Responses